सांसददेखि राष्ट्रपतिसम्मका भिआईपीहरुको तलब बृद्धि गर्ने मन्त्रिपरिषद्को  निर्णय



काठ्माण्डौ-

गत बिहीबार बसेको मन्त्रिपरिषद्को  बैठकले सांसददेखि राष्ट्रपतिसम्मको तलब बृद्धि गरेको छ ।भिआईपीहरुको तलब  १८ प्रतिशतका दरले तलब बृद्धि गरिएको हो ।

कर्मचारीको तलब बजेटमार्फत नै बृद्धि भएकाले अन्य भिआईपीहरुको पनि त्यही अनुसार बृद्धि गरिएको हो । त्यस्तै त्रिवि सेवा आयोगको अध्यक्षमा लालु पौडेललाई नियुक्ति गरिएको छ । आयोगको सदस्यमा प्रा. डा हेमराज ढकाल नियुक्त भएका छन् । पौडेल तत्कालिन एमाले निकट पर्वतका हुन् । पौडेल त्रिविकै भूगर्व विभागमा कार्यरत थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेल अध्यक्षताको समितिको सिफारिसमा आधारमा उनी नियुक्त भएका हुन् ।

कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा आयोगका अध्यक्ष डा ।चैतन्य शर्मा लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि आयोगको अध्यक्ष पद रिक्त भएको थियो ।

त्यस्तै बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका सचिव विष्णु लम्साललाई कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा अनुसन्धान निर्देशकका रुपमा नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्का अन्य निर्णयहरु आइतबार पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गर्दै छन् ।

प्रकाशित मिति : श्रावण १९, २०७६ आइतबार  ८ : ०५ बजे