स्याङ्जा :
गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारबाट हातहतियार र विष्फोटक सामग्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीरकोट नगरपालिका वडा नम्बर ९ काशिव दर्लामी र वालिङ नगरपालिका वडा नम्बर ९ का मोहन सिंजार्ली छन्।
उनीहरुको साथबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दस्तावेज र केन्द्रीय समितिको लेटर प्याडमा विभिन्न व्यक्तिहरुका नाममा ५० लाख माग गरेको १८ थान लेटर प्याडसमेत फेला परेको स्याङजाका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए।
भीरकोट नगरपालिका ९ निवासी ४६ वर्षीय दर्लामीको गोठबाट एउटा एयर गन, बम जस्तो देखिने आइडी ५ वटा, चन्दा उठाउन प्रयोग गरिने रसिद प्याड एउटा, सदस्यता ३ थान, नेकपाका दस्तावेदसमेत फेला परेको लम्सालले जानकारी दिए।
गल्याङ नगरपालिकामा शंकास्पद गतिविधिमा संलग्न रहेको देखेपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो। खानतलासी गर्दा प्रतिबन्धित नेकपाका दस्तावेज भेटेपछि विप्लवकै कार्यकर्ता भएको अनुमान गर्दै उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिए










