भक्तपुरको गठ्ठाघरमा दुर्घटना , १६ जना घाइते



भक्तपुर–

भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुलमुनी दुइटा बस एक आपसमा ठोक्किदा १६ जना घाइते भएका छन्।घाइते भएका  १३ जनालाई उपचारका लागी नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगी उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ न । को बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं ।को ३ वटा बसलाई ठक्कर दिँदा १६ जना यात्रु घाइते भएको प्रहरीले जनाएकोे छ।

घाइतेहरु सबैको अवस्था सामान्य रहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। ४ वटै सवारी साधन महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा रहेको जनाइएको छ। ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउपालिका ६ घर भई हाल काठमाडौ ताहचल बस्ने बर्ष ३० को दिपकराज ठकुरी महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा रहेको जनाइएको छ।

थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ।

प्रकाशित मिति : श्रावण २६, २०७६ आइतबार  ९ : ४७ बजे