भदौ १० देखि १५ गतेसम्म काठ्माण्डौमा नाडा अटो सो हुने



काठमाडौं,

नाडा अटो सोको चौधौं संस्करण २०१९ अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ । ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसले व्यवस्थापन गर्ने उक्त सोलाई सर्भो वल्र्ड क्लास ल्युब्रिकेन्टले प्रायोजन गर्ने आयोजकले बताएका छन् ।

नाडा अटो सो २०१९ कस्टमर, अटो सौखिन, अटो डिलर्स र अन्य सरोकारवालाहरुका लागि ठूलो व्यावसायिक प्लेटफर्म हुने अपेक्षा गरिएको छ । वर्षैपिच्छे आयोजना हुने नाडा अटो सोमा बर्सेनि प्रदर्शकहरुको सङ्ख्या बढ्दै गएको र यसले अटोमोबाइल लक्जरी मात्र नभएर आर्थिक क्रियाकलापको माध्यम र आवश्यकता पनि भएको देखाएको आयोजकको भनाइ छ ।

यस वर्षको नाडा अटो सोमा २३ ब्रान्डका फोर ह्वीलर गाडी, १९ ब्रान्डका टु ह्वीलर, १२ ब्रान्डका ल्युब्रिक्यान्ट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका ग्यारेज उपकरण र अटो कम्पोनेन्टहरु रहने छन् । साथै वित्तीय सेवाका लागि १३ वित्तीय संस्थाहरु पनि रहने छन् ।

समग्रमा साना तथा ठूला स्टल गरी १५० स्टलमा ९५ ओटा प्रदर्शकहरु रहने छन् । जसमा आयातकर्ता, डिलर, वितरक र निर्माणकर्ता पनि रहने छन् ।

भिजिटरको सहजतालाई ध्यानमा राखेर सोलाई विभिन्न सेग्मेन्टमा बाँडिएको छ । बहुप्रतीक्षित नाडा अटो सो २०१९ मा ७५ हजार भिजिटर ल्याउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार  २ : ३३ बजे