काठमाडौं–
रवि लामिछानेकि पत्नी निकिता पौडेलले पत्रकार शालिकरामको आत्महत्यासम्बन्धी मुद्दामा प्रहरीमा जाहेरी दिएकी छिन् । निकिताले शालिकरामको पुडासैनीको आत्महत्यासम्बन्धी भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा निकिताले जाहेरी दिएकी हुन् ।
यद्यपि,महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी भने दर्ता हुन सकेको छैन ।
निकिता पौडेलको तर्फबाट मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दर्ता गर्न लागिएको निकिता पौडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।
पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।








