सिंहदरवारभित्रको पुतली बगैंचामा सात अरबको लागतमा संघिय संसद भवन बन्दै



काठमाडौं ।

सिंहदरवारस्थित पुतली  बगैंचाको एक सय ७३ रोपनी जग्गामा सात अरब रुपैयाँको लागतमा संघिय संसद भवन निमार्णको काम अगाडी बढ्ने भएको छ । शहरी विकास मन्त्रालयले भवन निर्माणका लागि  आव्हान गरेको टेन्डरमा १७ निर्माण कम्पनिहरुको निवेदन अध्ययन गरेर टेन्डर दिने कम्पनिको चयन हुँदैछ । कम्पनि छनोटलगत्तै सम्झौता भई कामले गति लिने शहरी विकास मन्त्रालयले जनाएको छ ।

ठूलो लगानीमा भवन बन्न लागेकाले निर्माण कम्पनिहरु टेन्डर आफूलाई पार्न दौडधुप गरिरहेका छन् । सार्वजनिक खरिद अनुसार ठुला परियोजना सञ्चालनमा ल्याउन ठेक्का प्रक्रियाका कारण समय लाग्ने गरेको छ ।

कुल क्षेत्रफलको २७ प्रतिशत जग्गामा भवन निमार्ण हुने तथा ४५ प्रतिशत क्षेत्रमा हरियाली पार्क र २८ प्रतिशत क्षेत्रमा पानीका फोहरा लगायतका सजावटका संरचना र सडक निमार्णको ढाँचामा विकास गरिने योजना छ ।

निमार्णको तयारीमा रहेको भवन नेपाली परम्परागत संरचनामा आधारित रहने भएका कारण नेपाली मौलिकता झल्किने तथा संस्कृतिलाई प्रतिविम्ब गर्ने भवन निमार्णको तयारी मन्त्रालयले गरिहेको बताइएको छ ।

अन्तराष्ट्रिय रुपमा नेपाली आर्किटेक्चरल डिजाइनलाई चिनाउन परम्परागत मौलिकाताको आधारमा भवन निमार्णका तयारी भईरहेको हो । भवन निमार्णको गुरुयोजनालाई खुला हरियाली सहितको भवन, पार्किङ तथा सडक निमार्णको कामलाई चार भागमा विभाजन गरेर निमार्णको प्रक्रिया अगाडी बढाइने जानकारी गराइएको छ ।

प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार  ९ : ३१ बजे