काठमाडौं नयाँ बसपार्कको हाउसमा दुई युवायुवती मृत फेला



काठमाडौं,

काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा दुई युवायुवती मृत अवस्थामा भेटिएका छन् । बसपार्कस्थित मोरङ पर्वत धौलागिरी गेष्ट हाउसको कोठा नं । १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवैजनाले आत्महत्या गरेको अनुमान गरिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंका अनुसार मृत युवकको शव खाटमाथि भेटिएको छ भने युवतीको शव भुइँमा लडेको अवस्थामा भेटिएको छ । उनीहरु मंगलबार राति ११ बजे होटलमा बसेका थिए ।

बिहान खान खान बोलाउँदा पनि ढोका नखोलेको र दिउँसो १ बजेसम्म पनि बाहिर नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएको प्रहरीले बताएको छ ।

‘युवती खाटमुनि र युवा खाटमाथि मृत भेटिएका हुन्, के कारणले मृत्यु भएकोबारे अनुसन्धान थालिएको छ,’ डीएसपी प्रसाईंले भने। प्रसाईंका अनुसार कोठामा उडुस मार्न प्रयोग हुने विषादी भेटिएको छ। मदिराका बोत्तलहरू बरामद भएका छन्।

‘विषादीका कारण हो या अन्य केही कारण पोस्टमार्टमपछि पत्ता लाग्ने छ,’ उनले भने। दुबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाबारे परिसर, महानगरीय प्रहरी अपराध महाशाखा, फरेन्सिक महाशाखाको टोलीले अनुसन्धान थालेको छ। दुबै विवाहित हुन्।

प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार  २ : ०५ बजे