टेलिभिजनकर्मी लामिछाने ५ लाख धरौटीमा रिहा



काठमाडौँ –  शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले सोमबार साँझ रिहा गरेको छ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख ,  युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा  गर्न आदेश दिएको हो।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु  काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : भदौ ९, २०७६ सोमबार  १२ : ३९ बजे