काठ्माण्डौ-
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रविधीको दुरुपयोग गरेको आरोप लगाएका छन । मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै खाँडले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा गोपनीयता नरहने उल्लेख गरे।
उपप्रधानमन्त्रीलाई कार्यबाहकको जिम्मेवारी तोकेपछि किन प्रधानमन्त्रीले बिदेशबाट बैठक संचालन गर्नुपर्यो भन्दै आफ्नै मन्त्रीहरु प्रती पनि प्रधानमन्त्रीलाई बिश्वाश नलागेको हो ? खाँडले प्रश्न उठाए ।
खाँडको थप प्रश्न थियो ‘भोलि यसैगरी सभामुख बाहिर गएका बेला प्रतिनिधिसभा,राष्ट्रियसभा अध्यक्ष बाहिर गएको बेला राष्ट्रिय सभा र प्रधानन्यायाधीश बाहिर गएको बेला न्यायपालिकाको बैठक बस्न सक्छ
?’ यो अति संवेदनशील बिषय रहेको र गोपनीयताको समस्या आउन सक्ने संभावनातर्फ खाडले सचेत गराए ।
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी ओलीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेका थिए ।
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने व्यवस्था अनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसदलाई गराईसकेको अवस्थामा फेरि आफैले क्याबिनेटको अध्यक्षता गर्नु र भिडियो कन्फ्रेन्स मार्फत बैठक बस्नुको औचित्यनभएकोमा प्रमुख सचेतक खाँडले जोड दिएका थिए ।








