काठमाडौं –
सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले भारतीलाई पक्राउ गरेको पुष्टि गरे ।
विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो ।
विशेष अदालतले ठेकेदारका प्रतिनिधि शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो । ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो ।उनी त्यसयता फरारको सूचीमा रहेको थिए ।
भारती ठेकेदार कम्पनीका नेपाली प्रतिनिधि हुन्। सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी समेत दोषी ठहर भएका थिए।
पूर्व आइजिपी हेमबहादुर गुरुङ जेल बसेर २०७४ चैत १८ गते छुटेका थिए। त्यस्तै, पूर्व एआइजी श्यामसिंह थापा २०७४ चैत २५ गते र दीपकसिंह थाङदेन २०७४ चैत २३ गते जेल बसेर छुटिसकेका छन्। उनीहरु तीनै जनालाई सर्वोच्च अदालतले १-१ वर्ष कैद र ४०-४० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।
२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समय अघिमात्रै सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए। त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्। उनीहरुलाई ६६ महिना कैद र ३०३० हजार रुपैयाँ जरिवानको सजाय भएको थियो।








