काठ्माण्डौ-
प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि बैङ्किङ क्षेत्रमा नयाँ तरङ्ग पैदा भएको छ । शनिवार साँझ दरबारमार्ग स्थित एक होटलबाट ५ जना चिनियाँ नागरिकलाई प्रहरिले पक्राउ गरेका थियो । पक्राउ परेका उनीहरुको साथबाट एक करोड २६ लाख नेपाली रुपैयाँ नगद र १० हजार युएस डलर समेत बरामद भएको थियो ।
नक्कली एटीएम कार्डबाट पैसा निकालेको थाहा पाएपछि सो बारे बुझ्न राष्ट्र बैङ्कले बैङ्कर्सहरुको आकस्मिक बैठक बोलाएको छ ।राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार बैठक अबको दुई घण्टापछि बस्दै छ ।
बैङ्कको एटीएमबाट अनाधिकृतरुपमा रकम झिकिएको खबर बाहिररिएपछि अधिकांश बैङ्कहरुको एटीएममा समस्या देखिएको छ । सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उत्तमराज सुवेदीले राष्ट्र बैङ्कले दिएको जानकारीका अनुसार दुई वटा बैङ्कबाहेक अन्य सबै बैङ्कका एटीएममा समस्या आएको बताए ।
बैङ्कहरुले भने गेट वे सर्भरमा समस्या आएपछि एक दिन अर्थात् २४ घण्टाका लागि सम्पूर्ण एटीएम डाउन हुन सक्ने बताएका छन् ।








