काठ्माण्डौ-
नेकपा अध्यक्ष प्रचण्डले नेपालकोमा लगानी गर्न चीन सरकार र चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।
चिनियाँ दुतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापार सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उनले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गरे । राजनीतिक स्थायीत्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।
एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहोयाउँदै प्रचण्डले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे ।
उनले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको उनले स्पष्ट पारे ।
कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता । पुनले पछिल्लो समय नेपाल चीनबीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरका सम्बन्धहरु विस्तार हुँदै गएको बताए ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समस्यारहित नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए ।
कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।तेस्तै कार्यक्रममा ५० भन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी छन् ।










