एनसेल प्रकरण : फैसला गर्ने न्यायाधीशमाथी महाभियोग लगाउन सांसदहरुको माग



काठ्माण्डौ-

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको दोषारोपण गर्दै यसबाट सांसदको मनोबल गिरेको बताए । उनले त्यस्ता न्यायाधीशलाई संसद्ले महाअभियोग लगाउनुपर्ने धारणा व्यक्त गरे ।यस्तै, सांसद पार्वता डिसी चौधरीले एनसेल प्रकरणबारे पछिल्लो पटक सर्वोच्च अदालतले गरेको फैसलापछि समग्र न्यायालयप्रति नै जनताको वितृष्णा फैलिएको छ भनिन् ।

सांसद विमला नेपालीले महँगी र भीमसेनदास प्रधानले डेङ्गु रोगको नियन्त्रण गर्न जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मनकुमारी जिसीले एड्स रोगीलाई बीमा कम्पनीले विभेद गरेको बताए भने महेश्वरजङ्ग गहतराजले सडकमा गाईगोरु छाडा छोड्नाले कारवाही गर्न माग गरे।सांसद मायादेवी न्यौपाने, मीनाक्षी झा र मैनाकुमारी भण्डारीले महिला तथा बालिकामाथि हुने यौन हिंसा र मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकारको ध्यानाकर्षण गराए।

सांसद यज्ञराज सुनुवार, यशोदा सुवेदी, राधा ज्ञवाली, रानी मण्डल, राजबहादुर बुढा, रेखाकुमारी, भरतकुमार शाह र रेणुकाकुमारी गुरुङले पनि समसामायिक विषयमा आआफ्नो धारणा राखेका थिए। तेजाब हान्नेलाई कारबाही माग विशेष समयमा सांसदले पछिल्लो समयमा किशोरी र महिलामाथि तेजाब आक्रमणका घटना बढ्दै गएकाले त्यसबारे विस्तृत अध्ययन गरेर समाधान खोज्न सरकारसँग माग गरे ।
सांसदले सिरहा र सप्तरीलगायत देशका विभिन्न स्थानमा किशोरी र महिलामा तेजाब आक्रमण बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्दै सुरक्षाको माग गर्नुभयो । सांसद पुष्पाकुमारी कर्णले यही भदौ २० गते वीरगञ्जमा एक किशोरीमाथि आक्रमण गर्ने दोषीलाई कडा कारवाही गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । उनले पछिल्लो समयमा पहिलामाथि हुने हिंसाका घटना झन्झन् बढ्दै गएकाले त्यसको अन्त्यका लागि पहल गर्न सरकारसँग माग गरे।

सांसद सुरेशचन्द्र दासले मुलुकका विभिन्न स्थानमा भएको हत्याहिंसा अन्त्य गर्दै दोषीमाथि कारवाही होस् भन्नुभयो । सांसद नवराज सिलवालले सामाजिक सञ्जालको दुरुपयोग र विकृति बढ्दै गएकाले त्यसलाई रोक्नुपर्ने माग गरे । जनताको सेवाको लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेमा उहाँले जोड दिए । सांसद खगराज अधिकारीले भ्रष्टाचारको अन्त्य गर्दै गरीबी निवारणका लागि सरकार र प्रतिपक्ष दललागयत सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्छ भने । उनले एनसेलको लाभांश नेपाली जनाताले पाउनुपर्ने माग गरे ।सांसद अनिलकुमार झाले तराईका विभिन्न स्थानमा आएको बाढीका कारण जनता आक्रान्त बनेकाले त्यसको ठोस र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराए। सांसद विमलप्रसाद श्रीवास्तवले भारतको काश्मीरमा भएको समस्याबारे नेपालले प्रष्ट धारणा राख्नुपर्छ भने । उनले पर्यटन वर्ष सफल बनाउनका लागि प्रवेशाज्ञा प्रक्रियालाई सहज र छरितो बनाउनुपर्नेमा जोड दिए ।

सांसद प्रेम सुवालले नेपालमा देखा परेको डेङ्गु रोगथामका लागि सरकारले चालेको कदमबारे सरकारको जवाफको माग गरे । सांसद आशाकुमारी विकले भ्रमण वर्षको तयारीले सुदूरपश्चिमलाई किन छुन सकेको छैन भन्दै सरकारलाई प्रश्न गरे। सांसद अभिषेकप्रताप शाहले कञ्चनपुर र कपिलवस्तुका किसान आन्दोलनमा रहेका बारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद रङ्गमती शाहीले जुम्लाका स्याउले बजार नपाएका बारे सरकारको ध्यानाकर्षण गराए। सांसद इन्दुकुमारी शर्माले जलेश्वर कारागारको भौतिक संरचनाको पुनःसंरचना गर्नुपर्ने माग गरिन् ।

प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार  ३ : २४ बजे