काठमाडौँ –
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई थारु नेता लक्ष्मण थारुले दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् ।
थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनाबारे दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने ‘निर्दोष थारुहरुलाई जेलमा थुनेर राख्ने तर बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो चरित्र थारुहरुले बुझिसकेका छन् अब भ्रममा नरहे हुन्छ’, थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त गरेको खोइ’? उनले थारुहरुको एजेण्डा छाडिसकेका प्रचण्डलाई अब यस्ता अभिव्यक्ति दिन नसुहाउने बताए ।
‘प्रचण्डले साँचो अर्थमा थारुका मुद्दा बोकेको भए अहिलेसम्म टीकापुर घटनाले राजनीतिक समाधान पाइसक्थ्यो, तर उनले थारुहरुप्रति मुखमा रामराम बगलीमा छुरा जस्तै प्रवृत्ति देखाए’ नेता थारुले भने ।
उनले थारुहरुलाई अझै पनि दास सम्झने चिन्तन प्रचण्ड लगायत नेताहरुमा कायमै रहेको आरोप लगाए।
थारु कल्याणकारिणी सभाको ज्ञापन बुझ्दै अध्यक्ष प्रचण्डले टीकापुर घटना राजनीतिक भएको बताउँदै उक्त घटनाको राजनीतिक समाधान निकालिनु पर्ने बताएका थिए ।








