सरकार बिरुद्द देशब्यापी प्रदर्शन गर्दै कांग्रेसको राष्ट्रिय जागरण अभियान सम्पन्न



काठमाडौं –

नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबार सम्पन्न भएको छ ।बढ्दो महँगी, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट नेतृत्वको सरकारका सम्पूर्ण कुशासनविरुद्ध  प्रदर्शन र सभा गर्दै दोश्रो चरणको जनजागरण अभियान सम्पन्न भएको हो ।

अभियानका क्रममा हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, शहीद परिवार र द्वन्द्वपीडितको आंगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु गरेको कांग्रेसले जनाएको छ ।

दोश्रो चरणको अभियान अन्तर्गत अन्तिम दिन कांग्रेसका शीर्ष नेताहरुले विभिन्न जिल्लामा पुगेर जागरण अभियानको समापन समारोहलाई सम्बोधन गरेका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा। शशांक कोइरालाले खोटाङ, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, पूर्वमहामन्त्ती कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले सुनसरीमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गरेको कांग्रेसले जनाएको छ ।

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेबाट  दोस्रो चरणको अभियान सुरु गरेको थियो । अभियानको उद्घाटनका दिन कांग्रेसले तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा एक सय छ विरुवाका दरले वृक्ष रोपण गरेको थियो ।

 

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  २ : ०७ बजे