रवि लामिछानेले अब अदालतको स्वीकृत नलिइ विदेश जान पाउने



काठ्माण्डौ-

उच्च अदालत पाटनको हेटौंडा इजलासले टिभी प्रस्तोता रवि लामिछानेलाई विदेश जान स्वीकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ।

लामिछानेलाई विदेश जान स्वीकृति लिनुपर्ने आदेश बदर गरिदिएको उच्च अदालत पाटनका रजिष्टार विकास श्रेष्ठले बताए।

यसअघि चितवन जिल्ला अदालतले विदेश भ्रमणबाहेक दिएका अन्य आदेशहरु भने उच्च अदालतले यथावत राखेको छ।न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दूरुत्साहन अभियोगमा उनलाई भदौ ९ गते चितवन जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म विदेश जान नपाउने आदेश गरेको थियो।तेस्तै  जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो।

दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरेकाे थियाे ।

प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहिबार  २ : २२ बजे