काठ्माण्डौको टोखास्थित केसिको घरबाट दुई लाख चार हजार नगदसहित नौ जुवाडे पक्राउ



काठमाडौं –

महानगरीय प्रहरीवृत्त महाराजगञ्जले रु दुई लाख चार हजार नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले टोखा नगरपालिका–१० भण्डारी टोलस्थित जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो पक्राउ गरेको हो ।वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसैगरी वृत्तले आजै गरेको ‘कर्डन एण्ड सर्च अप्रेसन’मा शङ्कास्पद र गैरकानूनी गतिविधिमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा १४ महिला र १८ पुरुष रहेका छन् ।

यस्तै महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ३२ प्याकेट पटाकासहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३ टिचिङ अस्पताल पछाडिको गल्लीमा किराना पसल सञ्चालन गर्ने ३३ वर्षीय गीता शर्मालाई पक्राउ गरिएको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको लम्सालले बताए ।रासस

प्रकाशित मिति : कार्तिक ३, २०७६ आइतबार  ३ : ३२ बजे