पोखरा,
बरफको ढिस्कोमा पुरिएर अन्नपूर्ण आधारशिविरको पदयात्रामा गएका एक नेपाली युवाको मृत्यु भएको छ।
उनीसँगै पदयात्रामा गएका अरु दुईजना युवा घाइते छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित बगर क्षेत्रमा चल्तीको पदमार्ग छाडेर खोँचमा फोटो खिच्न पुगेका पोखरा ५ का १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको हो। बगर चौकीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार हिउँको ढिस्कोले पुरिएका खनालको घटनास्थलमै ज्यान गएको हो।
ढिस्को खसेर पोखरा ११ फुलबारीका २० वर्षे सन्तोष बास्तोला र पोखरा ५ का १९ वर्षे निरञ्जन कोइराला भने घाइते छन्।
घाइतेलाई हेलिकोप्टरबाट उद्दार गरी पोखराको मनिपाल शिक्षण अस्पताल पुर्याइएको छ। उनीहरुको अवस्था सामान्य रहेको थापाले बताए। मृतक खनालको भने खराब मौसमका कारण हेलिकोप्टर जान नसक्दा शव ल्याउन नसकेको उनले बताए।








