काठमाडौं –
राप्रपाका केन्द्रीय सदस्य कर्ण बुढासहित राप्रपा डोल्पाका ५३ जना नेता–कार्यकर्ता आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिएका हुन्। पार्टी प्रवेश कार्यक्रमामा वरिष्ठ नेता रामचन्द्र पौडेलले खादा ओढाइ पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव,लगायत नेताहरुले पनि नबप्रबेशिहरुलाई स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि बोल्दै राप्रपा नेता बुढाले डोल्पामा कांग्रेसलाई २०४८ कै कांग्रेसको अवस्थामा ल्याउने दाबी गरे । उनले कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन नसके आगामी निर्वाचनपछि राजनीति त्याग्ने घोषणासमेत गरे । कांग्रेसले २०४८ यता डोल्पाबाट कुनै चुनाव जित्न सकेको छैन ।








