काठ्माण्डौ, एजेन्सि-
भारतको सर्वोच्च अदालतले आयोध्याको बाबरी मस्जिद सम्बन्धिको ५ सय साल पुरानो विवादका बिशयमा टुंगो लगाउँदै उक्त बिबादित क्षेत्रको २ दशमलव ७७ एकड जमिन राम मन्दिरलाई दिन आदेश दिएको छ।
अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको छ।पाँचजना न्यायाधीशहरूको इजलासले सर्वसम्मत फैसला गर्दै तीन महिनाभित्र एउटा ट्रस्ट बनाउन भनेको छ।
फैसलामा निर्मोही अखडा पर्ने नपर्नेबारे सरकारले निर्णय गर्नेछ भनिएको छ।
फैसला सुनाउदै भारतिय प्रधानन्यायाधीश रञ्जन गोगोईले पुरातत्व वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनलाई नकार्न नसकिने बताए न्यायाधीश गोगोईले बाबरी मस्जिदको तल पाइएको संरचना मुलतः इस्लामिक थिएन ।
धर्मशास्त्रको क्षेत्रमा अदालतले दखल दिनु अनुचित हुने फैसलाको क्रममा उनले बताएका छन् । तर भगवान रामको जन्म अयोध्यामा भएको भन्नेमा कुनै सन्देह भने नरहेको उल्लेख गरिएको छ ।
सन् १९९२ देखिको बिबाद-
सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो।
सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो। उक्त फैसलाअनुसार विवादित २ ।७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्नुपर्ने हुन्थ्यो।त्यतिखेर अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो।
तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो।त्यस एता भारतको सर्वोच्च अदालतमा उक्त मुद्दा बिचाराधिन रहेको थियो ।
हिंसा भड्किन सक्ने त्रास-
फैसला हुने तय भएदेखि नै अधिकारीहरूले शान्तिका लागि आग्रह गरेका छन्।
उत्तर प्रदेश राज्यमा हजारौँ प्रहरी र अर्ध सैनिक दस्ताहरू तैनाथ गरिएका छन्।हिंसा मच्चिएला भन्ने त्रासकाबीच शुक्रवार सयौँ मानिसहरू गिरफ्तार गरिएका छन्।
शनिवार बिहानैदेखि स्थानीय विद्यालय र कलेजहरू बन्द गरिएका छन् र उक्त स्थानमा पुग्ने सडकहरू प्रहरीहरूले कब्जामा लिएका छन्।
राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको छ।
उत्तर प्रदेश राज्यस्थित अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्।तर मुस्लिमहरू आफूहरूले त्यहाँ पुस्तौँदेखि प्रार्थना गरिरहेको बताउँछन्।










