प्रधानमन्त्री सचिवालयका सदस्यहरुद्वारा सामूहिक राजीनामा



काठमाडौं–

प्रधानमन्त्री केपी ओलिले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री ओलिको आशय अनुसार उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्।

प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा असन्तुष्टि व्यक्त गर्दै राजिनामा मागेका थिए।

‘प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि हामीले छलफल गर्‍यौं र आजै सामूहिक राजीनामा बुझायौं’, राजीनामा दिने मध्येका एक सदस्यले भने।

राजिनामा दिनेहारुमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली ,प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव ईन्द्र भण्डारी, सचिवालयमै रहेका रामशरण बजगाईंलगायत छन्।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् समेत हेरफेर गर्ने निचोडमा पुगेका छन । २०७५ भदौदेखि नै मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि साइत भने जुरेको थिएन । मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँ अनुहारलाई मौका दिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै जोडबल गर्दै आएका छन् । तर प्रधानमन्त्री ओलीले पन्छाउँदै आएका थिए । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नामसमेत तय भएको स्रोतका दाबी छ ।

प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार  २ : २० बजे