काठमाडौं, २३ कात्तिक –
प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू–भाग रहेको निश्कर्ष निकाल्दै सहभागी नेता तथा पूर्व राजदुतहरुले भारतसँग राजनीतिक रुपमा कुरा गर्नुपर्ने सुझाव दिएका छन् ।
आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा अधिकांश नेता तथा पूर्वराजदुतहरुले भारतसँग नेपालको सिमा विवादबारे दिर्घकालिन रुपमा समाधान खोज्नुपर्ने सुझाव दिएका हुन् ।
बैठकमा सहभागी नेताहरुले राष्ट्रिय विषयमा सबै दल एक भएर अगाडि बढ्न,तथ्य र प्रमाणलाई केन्द्रमा राखेर संवादमार्फत नै समस्याको हल गर्न सुझाब दिएका छन ।
तेस्तै नेताहरुले प्रधानमन्त्री ओलिलाई आफ्ना भारतीय समकक्षीसँग संवाद गर्न पनि प्रधानमन्त्रीलाई सुझाएका छन ।
दुई देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाउन पनि छलफलमा सहभागी नेताहरुले सरकारलाई आग्रह गरेका छन ।
छलफलमा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी थिए ।








