कांग्रेसले चुनाब नजिते सम्म जनतामा उत्साह आउदैन : डा. मिनेन्द्र रिजाल



पाेखरा –

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन्।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ।”

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिदैं कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए।

उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न आम मतदातालाई आग्रह पनि गरे।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति, विसङ्गतिलाई रोक्न र सरकारलाई सही बाटोमा हिँडाउन यस चुनावमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे।

रिजालले कम्युनिस्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन्। कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए ।

चुनाव प्रचार कार्यक्रमअन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिस्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे।

नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान भएको तर कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धतिअनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे।

घरदैलो कार्यक्रममा काङ्ग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की काङ्ग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायतका नेता तथा कार्यकर्ता सहभागी छन्।

प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार  ७ : ०६ बजे