पोखरा-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपचुनावमा कांग्रेसलाई नजिताए लोकतन्त्र धरापमा पर्ने बताएका छन् ।
कास्की निर्वाचन क्षेत्र २ मा पर्ने पोखरा महानगरपालिका वडा १७ को कार्यालय उद्घाटन गर्दै उनले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उमेदवारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् ।
सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे ।
सरकारले भ्रष्टाचारका विषयमा मुख नखोलेको र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिपरेको भन्दै उनले अबको उप(चुनावमा पनि जनताले नेकपाका उमेदवारलाई मत दिए सरकारलाई भ्रष्टाचार गर्न मत दिएको ठहरिने बताए ।
वडा १७ को कार्यालय उदघाटनपछि उनी घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।
चुनाव प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।








