नेपाल भ्रमणमा आएका ५ जना विदेशी पर्यटक भारतीय सिमा सुरक्षा बलको नियन्त्रणमा



भद्रपुर –

नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच युक्रेनी नागरिकलाई भारतीय सिमा सुरक्षा बलले पक्राउ गरेको छ।

खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका हुन्।

झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ।

शुक्रबार सो स्थानमा घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर अलमलिँदै १०० मिटर टाढा भारतीय भू–भाग कादोगाउँ पुगेका थिए।

कादोगाउँमा तैनाथ एसएसबीका जवानले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिक छन्।

झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय पक्षसँग आग्रह गरेको छ। रासस

प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार  ७ : ०६ बजे