हङकङमा स्थानीय निर्वाचनका लागी मतदान जारी : प्रजातन्त्र पक्षधरहरु सिट बढाउने आशामा



काठ्माण्डौ-

सरकार विरोधी प्रदर्शनका कारण केही समयदेखि अशान्त रहेको हङकङमा भइरहेको जिल्ला परिषद्को चुनावमा  मानिसहरूले मतदान गरिरहेका छन्। निर्बाचनका क्रममा प्रजातन्त्र पक्षधरहरुले चुनाव नबिथोल्न र बेइजिङ सरकारलाई चुनावमार्फत् उचित जवाफ दिन हङकङबासीलाई आग्रह गरेका छन्।

दिउसोको खाना खाने समयसम्म सन् २०१५ को चुनावमा मतदान गर्ने भन्दा बढी सङ्ख्यामा मत खसेको अधिकारीहरूले जनाएका छन्।यो चुनावलाई सङ्घर्ष गरिरहेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षणका रूपमा हेरिएको छ।

लोकतन्त्र पक्षधरहरूले पाँच महिनादेखि सरकार विरोधी आन्दोलन चलिरहेको हङकङको चुनावले चीन सरकारलाई पनि सन्देश दिने अपेक्षा गरेका छन्।

हिंसा भए मतदान केन्द्रहरू बन्द गरिनसक्ने चिन्ताका माझ आइतवार लामबद्ध भएर मानिसहरू मतदान केन्द्रमा उपस्थित भएका थिए। हालसम्म कुनै अवरोधका विवरण आएका छैनन्।

हङकङको जिल्ला परिषद्‍मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन्।प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्।

परिषद्ले प्रमुख कार्यकारी चयनमा  प्रभाव राख्दैआएको छ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार  ८ : ०२ बजे