पोखरामा २४०० मतान्तरले चुनाब जित्ने बिश्वप्रकाशको दाबी



न्यू सञ्चार्, पोखरा –

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २ हजार ४ सय मत अन्तरले कांग्रेसले जित्ने दाबी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् ।

‘सबै प्रकारले हेर्दा २ हजार ४ सय मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं,’ उनले भने ।

प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधार समेत प्रस्तुत गरे । उनले भने, ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन् ।’

फरक प्रसङ्गमा उनले राष्ट्रिय एकताका विषयमा आन्तरिक झगडा होइन, सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो । सरकारले यथाशीघ्र कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ’, उनले भने । प्रवक्ता  शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार  १० : ०१ बजे