चिसो बढ्न थाल्यो : यस वर्ष तापक्रम शून्य डिग्रीसम्म पुग्न सक्ने



न्यू सञ्चार,काठ्माण्डौ-

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु भएको छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ ।

श्रेष्ठले भने, ‘यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन् । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।’

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।

पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ । रासस

प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार  ६ : ४७ बजे