सरकार र सत्तारुढ नेकपाले कहाँ कहाँ निर्वाचन आचार संहिता उल्लंघन गर्‍यो ? कांग्रेसले सार्बजनिक गर्‍यो बिबरण



न्यू सञ्चार,काठ्माण्डौ-

नेपाली कांग्रेसले उपनिर्वाचनको पूर्वसन्ध्यामा सरकार र सत्तारुढ नेकपाले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आचार संहिता उल्लंघन नगर्न सरकारलाई सचेत गराएका हुन् ।

सरकारका मन्त्रीदेखि प्रदेशका मुख्य मन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको, नेकपाका कार्यकर्ताहरूद्वारा ठाउ ठाउमा भौतिक आक्रमण भएको ,सरकारी साधन श्रोतको दुरुपायोग गरेको मौन अवधी शुरू भएपछि पनि कास्कीको वैदामका डिएसपीलाई सरूवा गरिएको निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौं कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने कार्य सहित आचार संहिता उल्लंघन गरेको कांग्रेसले जनाएको छ ।

मंसिर १४ को उपनिर्वाचनको पूर्व सन्ध्यामा सत्तापक्षबाट कयौं स्थानमा आचारसंहिताको उल्लंघन भइरहेको भन्दै  कांग्रेसले सार्बजनिक गरेको विवरण-

-आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्य मन्त्रीसम्म चुनाव प्रचारमा संलग्न । कयौं स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग ।

– दोगडाकेदार गाउँपालिका वडा नं । ४ का नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट माथि भौतिक आक्रमण नेकपाका कार्यकर्ताहरूद्वारा ।

– चितवन खैरहनी नगरपालिका वडा नं । ४ मा मंसिर ६ गतेको चुनावी सभामा ३९ युवा सहित ४६ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । आफ्नो समुदायका थुप्रैलाई कांग्रेस प्रवेश गराउने भूमिका निर्वाह गरेका स्थानीय प्रखर युवा टेकबहादुर परियारलाई मंसिर ९ गते राति भौतिक आक्रमण गरिएको छ ।

-निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौं कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने कार्य भएको छ । मौन अवधी शुरू भएपछि पनि कास्कीको वैदामका डिएसपीलाई सरूवा गरिएको छ ।

-अरूबेला काममा ढिलासुस्ती तर अहिले कयौं ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजनामै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौं भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।

-महोत्तरीको पिपरामा बम विष्फोट पश्चात मौन अवधिमा पनि चुनाव प्रचारकै शैलीमा गतिविधिहरू भएका छन् ।

पत्रकार सम्मेलन पछी कांग्रेसले जारी गरेको बिज्ञप्तिको अंश –

के हुँदैछ काठमाडौंमा ?

नेकपाका जिम्मेवार नेताहरुले नै जाइलाग भन्ने सार्वजनिक रुपले अपिल गरेपछि त्यसको प्रभाव राजधानी काठमाडौँमै पनि देखिएको छ ।

त्रिचन्द्र क्याम्पस प्रमुख माथि भएको आक्रमण निन्दनीय छ । शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सहि छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुख माथि भौतिक आक्रमण गर्नु दुःखद मात्रै होइन दण्डनीय छ ।
त्रिचन्द्रमा सम्मानित गुरु माथि आक्रमण गर्ने संगठनकै सदस्यहरुले नेपाल कमर्श क्याम्पस, मिनभवमा नेविसंघका सदस्यहरु माथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सीना र निरज शाहलाई घाइते बनाएका छन् । कालापानी लगायतको प्रकरणमा सिंगो राष्ट्र एकढिक्का भई उभिनु पर्ने समयमा नेपाली कांग्रेसले एकातिर आफू निकटका विद्यार्थीलाई फेरिपनि संयमित रहन निर्देशित गरेको छ तर सत्तापक्षमा त्यो ढंगको संस्कार नदेखिनु दुःखद छ । घटनाका दोषीहरुलाई कार्वाही गर्न नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।

कालापानी प्रकरण : खोइ गम्भीर पहलकदमी ?

नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरा समेत गाँसेर नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कुटनैतिक र राजनैतिक पहल गम्भीर ढंगले नगर्नु अत्यन्तै दुःखद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत सबै दल र समस्त नेपालीको सम्पूर्ण साथका वावजुद सरकारले परिणाममुखी पहल गर्न नसक्नु लज्जास्पद विषय हो । हिजोको उग्र राष्ट्रवादको नारा यो प्रकरणमा आइपुग्दा विषर्जित हुँदै गएको चित्रले जनसमक्ष वास्तविकता उजागर त गर्दैछ नै तर कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा पनि बढेको छ ।

नेपाली कांग्रेस यो विषयमा गम्भीर भएर गम्भीर पहलकदमी गर्न सरकारलाई सार्वजनिक रुपले आह्वान गर्दछ ।

एक अर्को ‘मेलम्ची’ ?
वर्तमान सरकारको रवैयाका कारण मेलम्ची खानेपानी परियोजनाबाट इटालिएन कम्पनी फर्कीएर जांदा त्यसले एकातर्फ मेलम्ची आउने समयावधि लम्बीन पुग्यो भने अर्कातर्फ वाह्य जगतमा नराम्रो सन्देश गयो । पछिल्लो समय त्यस्ते घटना दोहोरीएको छ । वीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गर्नु भएको बनेपा वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो । त्यहि सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्य विनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरीन तर्फ लाग्नु दुःखद छ । सरकारले आफ्नो रवैया सच्याएर तत्काल अनुकूल वातावरण निर्माण गर्न र गलत सन्देश सम्प्रेषण हुनबाट रोक्न नेपाली कांग्रेस अपिल गर्दछ ।

अर्बौ ऋण लिएर मकै गोड्ने ?

एक रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढंगले मुलुकको ४ अर्ब रुपैयाँ स्वाहा बनाएको थियो । त्यहि असफल परियोजनाका लागि विश्व बैंकसँग १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लाग्दैछ । नेपाली कांग्रेस स्थायी रोजगारी सृजनाको क्षेत्रमा नविन सोचका साथ अघि बढ्न सरकारलाई अपिल गर्दै यसरी अनुत्पादक ढंगले अघि बढ्ने कर्मप्रति सरकारलाई सर्तक र सचेत गराउन चाहन्छ ।

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  १ : ०८ बजे