काठमाडौं, १६ मंसिर
नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए । उनले भने,‘यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘हामी यो उपनिर्वाचनको मतपरीणामबाट खुशी छौं ।उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेद्धवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे । उनले भने,‘हामीले पूर्व, पश्चिम नभनीकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम निर्वाचनको कमाण्डर थिएँ । सिँगो नेकपा एकतावद्ध थियो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए ।
उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दापनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको सुनाउँदै भने,‘सरकारले वार्ता तथा कुटनीतिक पहलको माध्यमबाट नेपालको भूमी फिर्ता गर्ने अडान लिएको छ । प्रधानमन्त्रीज्यूले एक ईन्चपनि नेपालको भूमि मिच्न दिईँदैन् भन्नुभएको छ ।’
सरकारले राष्ट्रियतालाई सुदृढ र मुलुकलाई समृद्ध बनाउने काम गरेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न लागिरहेको छ । सन् २०३० सम्म नेपाललाई दिगो विकासको लक्ष्यमा पुर्याउँछौं ।’








