काठमाडौं-
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सवै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने बताएका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानी बिरुद्ध शुक्रबार पार्टीको नगर संघर्ष समितिले आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता शर्माले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने चेतावनी दिए । प्रवक्ता शर्माले स्थानीय तहका जनप्रतिनिधिको मनोमानीलाई तत्काल नरोकेमा स्थानीय निकाय भ्रष्टाचारको अखडा बन्नेतर्फ ध्यानाकर्षण गराए।
कम्युनिष्टले जितेका स्थानीय तहमा भ्रष्टाचारको बिगबिगी भएको भन्दै उनले त्यसका बिरुद्ध जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले अभियान चाल्ने चेतावनी दिए।
शर्माले नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जा गरेको भन्दै त्यसका विरुद्ध कांग्रेसले नेपाल बन्द आयोजना गर्दा जनताले दुख पाउने भएकाले विरोध सभाबाटनै जनतालाई जागरुक बनाउने बताए।
‘बर्लिनको पर्खाल ढले झैं धरान उपमहानगरपालिकाको गत १४ मंसिरमा भएको निर्वाचनमा कम्युनिष्ट ढलिसके’, शर्माले भने, ‘ नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनतालाई पत्याउन छाडिसकेको यो प्रमाण हो ।’
उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र रहेको दाबी गर्दै शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपा पराजित भएकोले नेकपासँग सच्चिन सन्देश दिएको बताए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र समेत रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ ।
नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा पार्टीको कागेश्वरी मनोहरा संघर्ष समितिका संयोजक शंकर थापाले अनियमितता र भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले शिक्षा क्षेत्रमा वालुवा ठेक्कामा भएको करिव ३ करोडको अनियमितताको छानवीन र दोषीलाई कारवाही गर्नुपर्ने, स्मार्ट सिटिको नाममा रोक्का गरिएको जग्गा फुकुवा गरिनु पर्ने, कित्ताकाट शिफारिसका लागी लिईरहेको प्रति आना रु । १०,००० को खारेजी गरिनुपर्ने,गैरकानूनी र अव्यवस्थित रुपमा भएको जग्गा प्लटिङ र यसमा भएको अनियमितताको छानवीन गरिनुपर्ने, वडा नं . ४ को जग्गा मदन भण्डारी फाउण्डेशनको नाममा विना कार्ययोजना वालुवा माटो जस्ता श्रोत दुरुपयोग गर्नको लागि दिने प्रकृयाको खारेजी गरिनुपर्ने लगायतका मागहरु सार्बजनिक गरेका थिए ।








