काठमाडौं २३ मंसिर –
संसद सचिवालयले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । संसद सचिवालयले संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी पूरा भएको जानकारी दिएको हो ।
अब एक दुईदिन भित्रमा प्रधानमन्त्रीसँग छलफल गरेर अधिवेशन आह्वान गरिने सचिवालयले जनाएको छ । अधिवेशनको पहिलो प्रमुख काम सभामुख चयन हुनेछ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज छलफल गर्दैछिन् । उपसभामुख तुम्बाहाम्फेले संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी पूरा भएको जानकारी दिइन् ।‘अधिवेशन पहिले सचिवालयले गर्ने तयारी सकिएको छ, अब संसद् अधिवेशन जति बेला बोलाए पनि हुन्छ’, उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘ सोमबार प्रधानमन्त्रीसँग अधिवेशन बोलाउनेबारे छलफल गर्दैछु । त्यसपछि मिति तय हुन्छ ।’
अब प्रधानमन्त्रीसँग छलफल पछि अधिवेशनको मिति तय हुने उनले जानकारी दिइन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुस दोस्रो साता संसद् अधिवेशन आह्वानको तयारी भएको जानकारी दिए। संसद् सचिवालयले आन्तरिक तयारी सकिएको जानकारी सरकारलाई दिएसँगै संसद् अधिवेशन आह्वानको निर्णय हुने उनले बताए। संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउने उल्लेख छ । जसमा एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने व्यवस्था छ । गत वैशाख १६ गते सुरु भएको संसदको चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।








