न्यू सञ्चार, काठ्माण्डौ-
खोटाङको रावाबेंशी गाउँपालिकाको नाममा रहेको १ वटा गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा आगजनी भएको हो । आगजनीबाट गाडीमा पूर्णरुपमा क्षति पुगेको छ ।
रावाबेंशी गाउँपालिका–५ दुबेकोलमा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको घरमा पार्किङ गरेर राखिएको गाडीमा सोमबार राती अन्दाजी १२ः५८ मा आगजनी भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । रातको समयमा ठूलो आवाज पड्केको सुनेपछि हेर्दा गाडीमा आगजनी भईरहेको उनले बताए ।
गाडीमा आगजनी भएको खबर प्रहरीलाई गरेपछि कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट आएको प्रहरीको टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतम राती नै घट्नास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् । ३८ लाखमा खरीद गरिएको गाडी गाउँपालिका अध्यक्षले प्रयोग गर्दैै आएका थिए ।
१५ मंसिरमा दोर्पाको लप्सेखोला पंखुखोलामा र चखेवाभन्ज्याङमा गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटर अज्ञात समुहले जलाइदिएका थिए ।








