न्यू सञ्चार,काठ्माण्डौ-
यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद हाल रिक्त रहेको छ ।
यसैबिच आगामी पुस ४ मा संसद्को हिउँदे अधिवेशन आह्वान गरिए सगै तिक्त रहेको सभामुख को बन्ने भन्ने चर्चा र नेकपाका नेताबिच तिब्र दौड शुरु भएको छ । सत्तारुढ नेकपाले संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।
पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्।
उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ। संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्।
नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो। पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन्। अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन्।








