काठमाडौँ ।-
सरकारले आगामी माघ ९ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिएका हुन ।उनन्साठी सदस्यीय राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिन लागेकाले राष्ट्रिय सभामा रिक्त हुन आउने १८ पदका लागि निर्वाचन हुन लागेको हो ।
आगामी फागुन २० गतेबाट राष्ट्रियसभा सदस्यहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधी सकिन लागेको हो ।
संविधान अनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । संविधानको उक्त ब्यबस्था अनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीकालागि सरकार र राजनीतिक दलहरुसँग छलफल गरिसकेको छ ।
सम्बन्धित समाचार-
राष्ट्रियसभामा क-कसको सकिदैछ पदावधि ? आयोगले थाल्यो निर्वाचनको तयारी








