कर्मचारिहरु पुगे सिंहदरबार घेर्न



काठमाण्डौ –

समायोजनले  अन्यायमा परेको गुनासो गर्दै आएका प्रदेश र स्थानीय तहमा खटाइएका अधिकृतहरु अहिले सिंहदरबार घेर्न पुगेका छन् । यसअघि दरबन्दी छैन भनेर केन्द्रका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाइएको थियो । तर गत बुधबार लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गरेपछि विवाद बढेको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतहरुले आफूहरु अन्यायमा परेको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको दरबन्दीको आधारमा बुधबार लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गरेपछि प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृतहरुले रिक्त दरबन्दीमा आफूहरुले अवसर पाउनुपर्ने बताएका हुन् ।

उनीहरुले बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिका सांसदहरुलाई भेटी संघको खाली दरबन्दीमा समायोजन संशोधन गरी आफूहरुलाई पदस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयको नाममा निर्देशन जारी गर्न पनि माग गरेका छन् ।

 

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ६ : ४० बजे