नेकपा स्थायी कमिटी बैठकमा माधब नेपाल समुहको आरोप : सरकारले काम गर्न सकेन



काठमाडौं, ४ पुष –

सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा नेताहरुले सरकारको चर्को आलोचना गरेका छन ।। बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको,भ्रष्टाचार नियन्त्रण र शान्ती सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका हुन ।

बरिष्ठ नेता माधव कुमार नेपाल समूहका अधिकांश सदस्यहरुले सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र ढिलासुस्ती भएको आरोप लगाएका हुन् । तर, बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरुले सरकारको बचाउ गर्न खोजे पनि नेता नेपाल पक्षधरले ठाडै प्रतिकार गरेका थिए ।

नेकपानिकट स्रोतकाअनुसार अधिकांश सदस्यहरुले सरकारको विरोधमा मोर्चाबन्दी गरेका छन् । बैठकमा सरकार को आलोचना गर्ने नेता हरुकै सङ्ख्या बढी रहेको छ ।एक नेताले भने,‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले बचाउ गर्नुभयो तर, उहाँको बचाउमा पनि अरु सदस्यहरुले प्रतिकार गर्नुभयो ।’ बैठकमा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालपनि सरकारको बचाउमा उत्रिएका छन् । तर बैठकमा प्रधानमन्त्री ओली पक्षधरहरुले सरकारको बचाउ गरेपनी मन्त्रीसमेत रहका सदस्यहरु वर्षमान पुन र लेखराज भट्ट समेत सरकारको आलोचनामा उत्रीएका थिए । ती नेताले भने,‘पोखरेल र ज्ञवालीबाहेकका मन्त्रीहरुले पनि सरकारको बचाउ गर्न सकेनन् ।’

सरकारको सबैभन्दा बढि आलोचना गर्ने सदस्यहरुमा भीम रावल, बेदुराम भुषाल र देव प्रसाद गुरुङ छन् । बैठकमा सरकारको आलोचना गर्नेको संख्या बढी रहेको ति नेताले बताए  ।

प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार  १२ : ३२ बजे