मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी कलेजमा विद्यार्थी नेताको ‘लुट’



काठमाडौं । सरकारी कलेज विद्यार्थी नेताका लागि कमाइ खाने भाँडो बन्ने गरेका छन्। चाहे विदेश भ्रमण होस् वा विद्यार्थीलाई प्रदान गर्ने छात्रबृत्ति वितरणमा, विद्यार्थी नेताले व्यक्तिगत फाइदा उठाएका हुन्छन्। यहाँसम्मकी आफ्नो निजी भ्रमणको खर्च पनि उनीहरूले सरकारी कलेजबाटै भराएको पाइएको छ। २०७५ साउन ९ गते पाटन संयुक्त क्याम्पका ४ जना नेताहरूले थाइल्याण्ड भ्रमणका लागि टिकट बुक गरे। र, प्रति व्यक्ति ७० हजार रुपैयाँको दरले पेस्की पनि लिए। तर पेस्की फर्छ्योट पनि गरेका छैनन्।

अचम्म्मको कुरा के छ भने ती विद्यार्थी नेतालाई निमन्त्रणा गर्ने कम्पनी माउण्ट सिजुवोको कम्पनी लिमिटेडको वेबसाइट अध्ययन गर्दा उक्त कम्पनी ट्राभल एजेन्सी रहेको देखियो। उक्त कम्पनीले ती विद्यार्थी नेतालाई युवा राजनीति र वातावरणको नाममा अध्ययन गर्न बोलाएको देखियो। अध्ययन भ्रमणपछि थाइल्याण्ड भ्रमणमा जाने विद्यार्थी नेताले प्रतिवेदन पनि बुझाएनन्।

विद्यार्थी नेताहरू खगेन्द्र ब। विष्ट, झपीन्द्रकुमार खत्री, तारा प्रसाद शर्मा र सञ्जीव कार्कीले थाइल्याण्ड भ्रमणमा सहभागी हुन क्याम्पस प्रमुख पाटन संयुक्त क्याम्पसलाई पत्राचार गरे। चिठीमा उनीहरूले विद्यार्थीहरुको नाम पनि उल्लेख गरे। तर कार्यक्रम हुने स्थान, कार्यक्रमको विवरण केही उल्लेख गरिएन। भ्रमणको कार्यक्रम विद्यार्थी नेताको व्यक्तिगत इमेलमा आयो। थाइल्याण्डका भ्रमणका लागि विद्यार्थी नेताबाट चिठी आएकै दिन क्याम्पस प्रमुखले एक दिन ढिलो नगरी थाइल्याण्डमा कार्यक्रममा सहभागिताको लागि पेश्कि स्वरुप ७० हजारका दरले दिनु भनि क्याम्पस प्रमुखबाट तोक आदेश लगाइदिए।

‘यसरी निमन्त्रणा आउँदा व्यक्तिको नाम तोकेर आउनु आधिकारिक संस्था र व्यक्तिगत निमन्त्तणामा आएको विषयमा क्याम्पसबाट हचुवाको भरमा पेश्कि रकम दिनु, मनोनयन गरी विद्यार्थी पठाउनु पर्नेमा सो नगरी व्यक्तिगत भ्रमणको लागि पेश्की रकम उपलब्ध गराउनु नियम बाहिर हो।’ राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको रिपोर्टमा भनिएको छ। भ्रमणपछि कार्य सम्पन्न प्रतिवेदन पेस गर्न क्याम्पस प्रशासनले २०७६ भदौ १ गते ताकेता गर्यो तर प्रतिवेदन अहिलेसम्म तयार भएन।

कानुनअनुसार कार्यक्रममा सहभागी विद्यार्थीले कार्यक्रममा सहभागी भई कार्यक्रमको प्रतिवेदन र बिल भरपाईसहित तोकिएको समयभित्र पेश्की फर्छ्यौट गर्नु पर्ने हो तर अहिलेमम्म उनीहरूले त्यस्तो गरेनन्। साथै क्याम्पस प्रशासनबाट समेत पेश्की पछर्यौट गर्न पहल भएन। यसबाट उक्त भ्रमणमा आर्थिक अनियमितता भएको केन्द्रको रिपोर्टमा ठहर गरिएको छ।

६८ लाख फर्छ्यौट हुन बाँकी
पाटन संयुक्त क्याम्पमा अध्ययतरत विद्यार्थी नेताले करिब ६८ लाख पेश्की फर्छ्यौट अहिलेसम्म गरेका छैनन्। २०६० सालदेखि हालसम्म विद्यार्थी संघ संगठन तथा विद्यार्थी नेताका नाममा क्याम्पसबाट दिइएको पेश्की रकमको विवरण अनुसूचीमा राखिएको छ।२०६० सालदेखि हालसम्म विभिन्न मितिमा विद्यार्थी संगठन तथा विद्यार्थी नेताका नाममा लिइएका पेश्की सम्बन्धमा २०७६ भदौ ३ को पत्रमा पत्र बेरुजु देखिएको केन्द्रले तयार गरेको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार फर्छ्यौट हुन नसकेको यस्तो पेश्की रकम ६७ लाख ९६, हजार ५ सय ४७ रुपैयाँ ९७ पैसा देखिएको छ। ‘२०६० सालदेखि हालसम्म विभिन्न मितिमा विद्यार्थी संगठन तथा विद्यार्थी नेताका नाममा लिइएको पेश्की हालसम्म पनि फर्छ्यौट गरेको पाइएन। यसबाट नियमबाहिर गई अनियमिता गरेको देखियो।’ केन्द्रले तयार गरेको प्रतिवेदनमा भनिएको छ। नियमानुसार पेश्की फर्छ्यौट नगर्ने जिम्मेवार पदाधिकारी एवं विद्यार्थीलाई कानुनबमोजिम कारबाही गर्न केन्द्रले सिफारिस गरेको छ।

अध्ययन पूरा भएकालाई छात्रवृत्ति
बिए तेस्रो वर्ष २०७२ सालमा अध्ययन गरेको विद्यार्थीलाई २०७६ असार १९ गते छात्रवृत्ति वितरण गरियो। जबकी २०७२ सालमा बिए तेस्रो वर्ष अध्ययन गरेको विद्यार्थी २०७४ सालमा अध्ययन पूरा हुन्छ। यसबाट अध्ययन पूरा भएको व्यक्तिलाई पनि छात्रबृत्ति देखिएको देखिन्छ। साथै सो क्याम्पसबाट वितरण गरेको छात्रवृत्तिको भरपाईमा एकै व्यक्तिबाट सम्पूर्णको दस्तखत गरी रकम हिनामिना गरिएको प्रतिवेदनमा जनाइएको छ। केन्द्रले तयार गरेको रिपोर्टमा वैदेशिक भ्रमण, छात्रवृत्ति वितरण, पेश्की फर्छ्यौटमा अनियमितता तथा लापारबाही भई भ्रष्टाचार भएको ठहर गरी उक्त काममा संलग्न कर्मचारी पदाधिकारीमा थप अनुसन्धान गरी कारबाही गर्न आवश्यक देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको छ। साथै सुझाव कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र पाटन संयुक्त क्याम्पसलाई पनि केन्द्रले निर्देशन दिएको छ।
नागरिक दैनिकबाट

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  २ : ५३ बजे