काठमाडौँ । रूपन्देहीस्थित यातायात व्यवस्था कार्यालयले मोटो रकम असुलेर गाडी चलाउने ट्रायल परीक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई लाइसेन्स दिएको खुलेको छ । तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेलले अनियमितता गरी लाइसेन्स वितरण गरेको उजुरी छानबिनक्रममा ट्रायलमा फेल र अनुपस्थितलाई पास गराएको पाइएको अख्तियारले जनाएको छ ।
अनियमितता गरी लाइसेन्स वितरण गरेको अभियोगमा उपसचिव पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिकका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार दुवैले परीक्षाको नतिजा फेरबदल गरी प्रतिव्यक्ति १० देखि २५ हजार रुपैयाँका दरले पैसा लिएर ७१ जनालाई लाइसेन्स दिएका थिए ।