मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामी एक भयौ भने महाधिवेशनबाटै पार्टी सुधार्न सक्छौं : महामन्त्री कोइराला



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले कांग्रेसलाई गम्भीर संकटतर्फ धकेलेको बताउनुभएको छ । हामन्त्री कोइरालाले सभापतिले पार्टीभित्र सबैलाई मिलाएर लैजानुको साटो पार्टी कब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन्।

एक टेलिभिजनमा अन्तर्वार्ता दिदै महामन्त्री कोइरालाले पार्टीभित्र बृहत्तर एकताको पक्षमा आफू रहेपनि सभापति देउवाले एकताको भावना नबुझेकाले अब प्रतिस्पर्धा हुने बताउनुभयो । ‘अब देउवाजीसंग वार्ता हुँदैन । यथास्थितिमा उहाँले बोलाएको बैठकमा जानुको अर्थपनि छैन । अब सभापतिको गलत कदका विरुद्ध हामी लड्छौं ।’, कोइरालाले भन्नुभयो ।

यस्तै महामन्त्री कोइरालाले संस्थापन इत्तर समूहको एकताले नै कांग्रेस जोगाउन सक्ने बताउनुभयो । ‘शेरबहादुरजी फेरी सभापति हुनुभयो भने पार्टी सिद्धिन्छ । यो पार्टी जोगाउन पुरानो संस्थापन पक्ष एकताबद्ध हुनुपर्छ । हामी एक भयौ भने महाधिवेशनबाटै पार्टी सुधार्न सक्छौं ।’, कोइरालाले भन्नुभयो । पार्टीको पछिल्लो अवस्थाबारे देशभरीका कार्यकर्ता र जनतामाझ बृहद छलफल हुने भन्दै महामन्त्री कोइरालाले कांग्रेसको रुपान्तरणलाई देउवाले रोक्न नसक्ने बताउनुभयो । ‘उहाँको बहुमत केन्द्रीय समितिमा मात्रै हो । देशभरका कार्यकर्ता देउवाको नामसमेत सुन्न चाहदैनन् । त्यसैले ती कार्यकर्ताले अब निकास दिन्छन् ।’कोइरालाले भन्नुभयो ।

पार्टीभित्रका संरचनामा विधान विपरीत निर्णय लिएर महाधिवेशन प्रभावित पार्ने रणनीतिमा देउवा लागिपरेको कोइरालाको आरोप छ । ‘६ महिनामा बनाउनुपर्ने विभाग अहिले किन बनाउनुपर्यो ? विभाग किन थप्नुपर्यो ? यो सबै पार्टी कब्जाको रणनीति हो । यो रणनीति असफल बनाउन हामी कार्यकर्तामा जान्छौं ।’, कोइरालाले भन्नुभयो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ४ : ०४ बजे