मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधिसम्बन्धी विधेयक पारित : कांग्रेसको असहमति



काठमाडौं –

कांग्रेसको ‘नोट अफ डिसेन्ट’ का बाबजुत संघीय संसदको विकास तथा प्रविधि समितिको बहुमतले सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतबाट पारित गरेको छ । विवादित उक्त विधेयक समितिबाट पारित भएसँगै अब प्रतिनिधि सभामा छलफल हुनेछ ।

कांग्रेसले राज्यले दुराशयपूर्ण मनसायले सामाजिक सञ्जाल दर्ता गर्ने नाममा प्रयोगकर्तालाई नियमन गर्न खोजेको भन्दै सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘नोट अफ डिसेन्ट’ लेख्दै ६ पृष्ठ लामो फरक मत राखेको छ ।समितिबाट पारित प्रतिवेदनसहितको विधेयक संसद्मा पेस गरिनेछ ।उक्त बिधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।

कांग्रेसका सांसद एवं समिति सदस्यहरु बहादुरसिंह लामा, जिपछिरिङ लामा, रंगमती शाही र रामबहादुर विष्टले बहुमतको बलमा विधेयक पारित गरेकामा असहमति जनाउँदै फरक मत राखेका हुन् ।विधेयकका बारेमा दफावार छलफल गर्न गठित उपसमितिमा लिखित ‘नोट अफ डिसेन्ट’ पेश गरेका सांसद बहादुरसिंह लामाले नागरिकले बोल्ने अधिकार कुण्ठित गर्ने प्रावधान विधेयकमा राखिएकाले स्वीकार गर्न नसकिने बताए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : १८ बजे