काठमाडौं । उखु किसानको आन्दोलनप्रति नेपाली काँग्रेसले समर्थन जनाएको छ । बिहीबार पार्टी पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उखु किसानको आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उखु किसानहरुको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपील गर्दै, प्रभावकारी पहल गर्न सरकार समक्ष जोडदार माग गर्दछ ।,’
रकम भुक्तानी माग गर्दै उखु किसानले काठमाडौँ केन्द्रीत आन्दोलन गरेको महिना दिन पुग्न लाग्दा समेत भुक्तानी दिलाउन सरकारले गम्भीर पहल नगरेको विषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।








