आगामी शनिबारबाट मात्रै मौसममा सुधार : हिमपात र वर्षाको सम्भावना कायमै



पुस २२ काठ्माण्डौ-

पछिल्लो समय मौसममा फेरबदल भइरहेको छ । केहि दिनको वर्षा र हिमपात पछी सुधार हुँदै गएको मौसम फेरी बदलिएर बर्षा र हिम्पात हुने भएको छ ।

पश्चिमी न्युन चापीय प्रणालीका कारण आज काठमाडौं लगायत देशभर चिसो बढेको छ।

मौसममा आंशिक बदलि रही पश्चिमी उच्च हिमाली भूभागमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीका कारण भाेलि पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भूभागमा भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। बिहीबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने हुँदा चिसो बढ्ने हुनाले सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ। शनिबार बाट मौसममा सुधार देखिनेछ।

प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार  ६ : ४९ बजे