काठ्माण्डौमा समातिएका १२२ चिनियाँलाई लिन दुईवटा जहाज लिएर चिनियाँ टोली आउने



काठमाडौं, २२ पौष-

नेपालमा बसेर चीनमा अपराध गरेको आरोपम पक्राउ परेका एक सय २२ जना चिनियाँलाई चीनले बुधबार स्वदेश लैजाने भएको छ । दुईवटा चार्टर्ड विमानमार्फत उनीहरूलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागेको हो ।

पक्राउ परेकाहरूलाई अध्यागमन विभागले निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । अभद्र व्यवहार मुद्दामा आइतबार छुटेका उनीहरूलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो । पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँग मात्र पासपोर्ट भेटिएको छ । उनीहरूको समेत पासपोर्ट रद्द गरी सबैको ट्राभल डकुमेन्ट काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरिसकेको छ । सोमबार ट्राभल डकुमेन्ट अध्यागमन विभागमा बुझाइसकेको छ । ५० हजार रुपैयाँसम्म जरिवाना अध्यागमनले उनीहरूलाई गर्न सक्छ ।

दुईवटा चार्टर्ड विमान ल्याउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ । चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सको जहाज ल्याएर लैजान लागिएको हो । उनीहरूको निष्कासन प्रक्रियाबाट छलफल गर्न चिनियाँ दूतावासका अधिकारीहरू सोमबार अध्यागमन विभाग पुगेका थिए ।

गृहलाई चिनियाँ दूतावासको पत्र
पक्राउ परेका चिनियाँलाई चीन लैजान सहयोग गरिदिन काठमाडौंस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालय हुँदै गृहमा पत्र आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । पत्रमा उनीहरूलाई लैजाने सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

 

प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार  ८ : ११ बजे