काठमाडौं । नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालले स्वबियु निर्वाचनमा जुट्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । उपाध्यक्ष रिजालले बिहिबार समाजिक सञ्जाल मार्फत विद्यार्थीहरुलाई स्वबियु निर्वाचनमा जुट्न आग्रह गरेका हुन् ।
उपाध्यक्ष रिजालले २०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धि हो ‘स्वबियु निर्वाचन’ भएकाले नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको सो विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धि भएको नाताले स्वबियु संग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको समेत बताएका छन्। पन्चायत ब्यवस्था हुँदा पनि नरोकिएको स्वबियु निर्वाचन गणतन्त्र स्थापना भएदेखि विभिन्न बहानामा निर्वाचन रोकिदा यसले समग्र विद्यार्थी आन्दोलनलाइनै स्खलित बनाउँदै आएको उपाध्यक्ष रिजालले बताए ।
उपाध्यक्ष रिजालले २०७६ फाल्गुन १४ गतेका लागि घोषणा भएको स्वबियु निर्वाचन कुनै पनि हालतमा रोक्न नहुने भन्दै सम्पुर्ण विद्यार्थी संगठनहरु विशेष गरि नेविसंघ अत्यन्त सजग र सतर्क हुन हुनुपर्ने उल्लेख गरेका छन्। त्रिबिविले ६१ आंगिक सहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेको छ।









