तत्काल संसद बैठक राखेर एमसिसी पारित गराउन नेपाली कांग्रेसको माग



काठमाडौ-

नेपाली कांग्रेसले तत्काल संसद बैठक राखेर एमसिसी पारित गर्न माग गरेको छ।पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग  कांग्रेसले गरेको हो ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। संसद बैठक माघ ६ गते तोकिएको छ। प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाटै एमसिसि अनुमोदन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।

सभामुखको उम्मेदवारी दिने नदिने विषयमा सत्तापक्षसँग वार्ता गरेपछिमात्र तय हुने उनले बताए। संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था भएकोप्रति ध्यानाकर्षण गराउँदै दाबी पेश गर्ने समेत जानकारी दिए। सत्तापक्षसँगको वार्तापछि अन्य उम्मेदवार उठाउने वा नउठानेबारे निर्णय गर्ने निर्णय संसदीय दलले गरेको छ।

राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न अन्य दलहरुलाई आग्रह गरेको छ। सभामुखमा संविधानको व्यवस्थाविरुद्ध कुनै पनि कार्य नगर्न पनि नेपाली कांग्रेसले सरकारलाई सचेत गराएको छ।

तेस्तै कांग्रेसले सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाटै सभामुख चयन प्रक्रिया थाल्न आग्रह गरेको हो ।

प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार  ११ : १४ बजे