काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिपोर्टको जग्गा लिज वापत यति हाल्डिङ्स प्रालिले दिए भन्दा ५० करोड बढी आफुले तिर्ने भन्दै भाडामा आफुलाई दिन सरकारसमक्ष प्रस्ताव गर्नुभएको छ । रोल ….
राष्ट्रियसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनिले भन्दा आफुले ५० करोड रुपैया बढी दिने भन्दै आफुलाई भाडामा दिन सरकारलाई चुनौति दिनुभएको हो । उहाँले सरकारका मन्त्री, सभाध्यक्ष र माननीयहरुलाई साझी राखेर आफुले सरकारलाई ५० करोड बढी दिने प्रस्ताव राख्नुभएको हो ।
उहाँले भन्नुभयो “सरकारका मन्त्री ज्युहरु उपस्थित हुनुहुन्छ । सम्माननीय अध्यक्ष ज्यू र माननीय ज्यूहरुसबैलाई साँझी राखेर म भन्न चाहन्छु । त्यो रिपोर्स जुन हैसियत र बाटोमा दियो , जसरी दियो सरकारलाई मेरो प्रस्ताव छ आज । म सरकारलाई प्रस्ताव राख्न चाहन्छु जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ? छैन । किन दिदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ । ”
उहाँले समय नसकिदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिपोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी पनि उहाँले गर्नुभयो ।
उहाँले प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोटिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै गम्भीर आपत्ती जनाउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि बालुवाटारबाट गर्ने गर्नुभएको भन्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ‘प्रधानमन्त्रीका बाल्यकालमा लगाएका बस्त्रहरु राख्ने हो ?’भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्री बालुवाटारमा बस्नुहुन्छ । प्रधानमन्त्रीको निवास हो बालुवाटार । प्रधानमन्त्रीको कार्यालय होइन बालुवाटार । प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउन छोडिसक्नुभएको छ । सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि ? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने ? अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो ? ”
उहाँले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “लोकतान्त्रिक प्रक्रियाबाट बनेको संसदको अंग हो राष्ट्रियसभा, लोकतान्त्रिक अधिकार हनन गर्ने विधेयकलाई समर्थन गर्दै जाने कि हुन्न भन्ने साहस गरेर राष्ट्रियसभा कसैको रबर स्टाप होइन भन्ने संदेश दिने हो ? ”
उहाँले नेपाल विशेष सेवा सम्बन्धी विधेयकले नागरिकको व्यक्तिगत फोन ट्याब गर्न समेत पाउने गरि ल्याईएको विधेयक स्वीकार गर्न नसकिने बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो “हिजो राजा ज्ञानेन्द्रले कू गरेर मोबाईल बन्द गर्दा बेठिक र आज जनताको फोन ट्याप गर्न पाउने विधेयक ल्याएर नया महाराजा बन्न खोज्ने कसरी ठिक हुन सक्छ सम्माननीय अध्यक्ष महोदय ?”
एक महिना देखि अवरुद्ध भएकोमा पनि उहाँले आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो “सदनको कामकारवाही बन्द गर्ने अधिकार कसैलाई छैन । राष्ट्रिसभाको अर्को बैठक बस्दा सम्म प्रतिनिधिसभाको बैठक सुचारु नभए मैले सदनको कारवाही वरिष्कार गर्ने स्थिति नआओस् ।”








