अस्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ ।
शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकालीन घोषणा गरेका हुन् । अधिकारीहरुका अनुसार अनियन्त्रित डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ ।
क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ ।
क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रले सन् २००३ मा लागेको डढेलोपछि पहिलो पटक आपतकालीन घोषणा गरेको बताएका हुन् । उक्त आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने र अधिकारीहरूलाई सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको रोयटर्सले जनाएको छ।
अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन् । आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन् ।
डढेलोले ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ । करिब २५ सय घर आगोले नष्ट भइसकेका छन्।










