ब्रिटेन आधिकारिक रूपमा युरोपेली सङ्घ (ईयू) बाट अलग्गिएको छ। यससँगै ईयू र ब्रिटेनबीच झन्डै आधा शताब्दी लामो सम्बन्ध अन्त्य भएको छ।
ब्रिटेनका मतदाताले साढे तीन वर्षअघि ईयूबाट अलग्गिनका लागि भएको जनमतसङ्ग्रहमा अलग्गिने पक्षमा मत दिएका थिए।युरोपेली सङ्घसँगको ४७ वर्षे लामो सदस्यताबाट यूके जीएमटीअनुसार राति ११ बजे अलग्गिएको हो।
प्रधानमन्त्री जोनसनले ब्रिटेन युरोपेली सङ्घबाट बाहिरिनुपूर्व सामाजिक सञ्जालमा एउटा सन्देश जारी गरेका थिए।
अलग हुनुभन्दा एक घण्टाअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले सबै भावनालाई साथ लिएर अघि बढ्ने वाचा गरेका छन्।
उनले भने, धेरै मानिसहरूका लागि यो आशाको त्यो घडी हो जुन उनीहरूलाई कहिल्यै नआउने हो कि जस्तो लागेको थियो। यद्यपि कैयौँ मानिसहरू यस्ता पनि छन्, जसलाई चिन्ता लागिरहेको छ र नोक्सान भएको जस्तो महसुस भइरहेको छ।
जोनसनले यो राजनीतिक गतिरोध कहिले समाप्त होला वा नहोला भनेर सबैभन्दा बढी चिन्तित बनेको तेस्रो समूहू पनि रहेको बताए।










