चीनमा कोरोना संक्रमणको दर घट्दै, सोमबार ९८ जनाको मृत्यु



चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।

चीनमा हिजो सोमबार मात्रै ९८ जनाको ज्यान गएको छ ।  आइतबार चीनमा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको थियो ।

हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट १८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार मात्रै १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ७४ हजार ४ सय ३६ पुगेको छ ।

चीन बाहिर कोरोना भाइरसबाट मंगलबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार एक सय बढी मानिसहरु संक्रमित भएका छन् ।

चीन बाहिर सबैभन्दा बढी जापानमा कोरोनाको संक्रमण फैलिएको छ ।

सोमबार मात्रै जापानमा एक सय बढी संक्रमित फेला परेका छन् । मंगलबार बिहानसम्म जापानमा ५ सय १६ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७६ मंगलबार  ८ : २५ बजे